चर्चामा

आज सुन प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौं। उच्च मूल्यमा पुगेको सुनचाँदीको कारोबार मूल्य सोमबार स्थिर छ। साताको दोस्रो दिन सुन प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँ छ। यो मूल्य आइतबार कायम भएको हो। चाँदी चार दिनदेखि तोलाको १४ सय ५५ रुपैयाँमा स्थिर छ।

गत शुक्रबारका तुलनामा सुन आइतबार तोलामा २ सय रुपैयाँ घटेर कारोबार मूल्य तोला १ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको हो। गत बिहीबार तोलाको १ लाख २२ हजार रुपैयाँ पुगेकोमा १ हजार ३ सयको गिरावटसँगै शुक्रबार तोलाको १ लाख २० हजार ७ सय रुपैयाँ भएको थियो।

चाँदीको कारोबार मूल्य सोमबार पनि तोलाको १४ सय ५५ रुपैयाँमा स्थिर छ। गत बुधबारका तुलनामा १५ रुपैयाँ बढेर बिहीबार प्रति तोला १४ सय ९० भएको थियो। ३५ रुपैयाँ घटेर शुक्रबार तोलाको १४ सय ५५ भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २०६६।२६ डलरले कारोबार भइरहेको छ। आइतबार प्रति औंस २०६२।९ डलर थियो। चाँदी प्रति औंस २३।७९ डलर छ।